पुनस्थापित प्रतिनिधिसभाको दोश्रो बैठक आज बस्दै

काठमाडौं। पुनस्र्थापित प्रतिनिधिसभाको दोश्रो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका ठूला अस्पतालमा विभागको अनुगमन

उल्लिखित अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका थिए। अध्यादेश जारी भएको ६ महिनाभित्र अध्यादेश संसदबाट पारिन गरिनुपर्ने संवैधानिक व्यवस्था छ।

यस्तै आजको कार्यसूचीमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि छ।

यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो।

त्यस्तै प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए। जसका कारण सभामुख अग्नि सापकोटाले फागुन २६ गते बस्नेगरि बैठक स्थगित गरेका थिए।