प्रतिवर्ष चार लाख रोजगारी, सय खर्ब जीडीपी

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघले आउँदो चैतभित्रै आर्थिक विकाससम्बन्धी भिजन पेपर ल्याउने भएको छ। गत मंसिर १५ गते कार्यभार सम्हालेको महासंघको नयाँ कार्यसमितिले सय दिन पूरा गरेको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भिजन पेपरका लागि गृहकार्य भइरहेको जानकारी दिए।

चैत २८ मा हुने महासंघको ५५ औं साधारणसभाअगाडि नै भिजन पेपर सार्वजनिक गरिनेछ। महासंघ ‘सम्मानित निजी क्षेत्र, समुन्नत नेपाल’ नाराअनुसार अगाडि बढिरहेको र भिजन पेपरबाट यसलाई थप प्रस्टता तथा विस्तृत कार्ययोजना पनि ल्याइने जानकारी अध्यक्ष गोल्छाले बताए।

“हामी चैतको साधारणसभाअगावै भिजन पेपर ल्याउने प्रतिबद्धताअनुसार काम गरिरहेका छौं,” अध्यक्ष गोल्छाले भने, “कार्यान्वयनको योजना र कार्यक्रमसहितको भिजन पेपर ल्याउनेछौं ।” उनका अनुसार भिजन पेपरमा १० प्राथमिकता प्राप्त क्षेत्र रहनेछन्।

भिजन पेपर राष्ट्रिय आर्थिक रूपान्तरण मार्गचित्र–२०३० को अवधारणाअनुसार ल्याउन लागिएको छ । सन् २०३० भित्र यसका निम्ति समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा तयार भएको अध्यक्ष गोल्छाले बताए।

अन्य सम्बन्धित समाचार:  नेप्से १० अङ्कले बढ्यो

उनका अनुसार भिजन पेपरले सो अवधिभित्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब पु¥याउने र प्रत्येक वर्ष ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

“सबै क्षेत्रलाई समेटेर र कार्यान्वयन योग्य हुने गरी भिजन पेपर ल्याउँदै छांै,” उनले भने, “भिजन पेपरमा स्पष्ट कार्ययोजना र समय तालिका पनि हुन्छ, सोअनुसार कार्यान्वयनमा जान्छ, यसका लागि छुट्टै टिम बनाउँछौं।” उनका अनुसार भिजन पेपरमा तत्कालीन र दीर्घकालीन गरी १ सय अभियानहरू समेटिएका छन्।

चुनौतीपूर्ण समयमा भिजन पेपर ल्याउन लागिए पनि यसका लागि अन्तर्राष्ट्रिय विकास मोडलको अभ्याससमेत हेरिएको उनको भनाइ छ। नेपालको विकासका लागि कुन देशको मोडल उपयुक्त हुन्छ भनेर अध्ययन भइरहेको गोल्छा बताउँछन्।

भिजन पेपरमा कृषि, सेवामूलक क्षेत्र र उत्पादनमूलक उद्योगलाई नै आर्थिक विकासको आधार मानिएको छ, जसमा नेपाललाई एसियाको प्रमुख सेवा केन्द्र बनाउने, तुलनात्मक लाभका उद्योगमात्र सञ्चालन गर्ने तथा निर्वाहमुखी कृषिबाट उत्पादनमुखी कृषिमा रूपान्तरण गर्ने योजना रहेका छन्। यस्तै, दोहोरो अंकको वृद्धि यसका लागि मुख्य सर्तका रूपमा अघि सारिएको छ।

अन्य सम्बन्धित समाचार:  सुनकाे मूल्य स्थिर

नेपालमा रहेका सम्भावनाहरूको विश्लेषण भिजन पेपरमा गरिएको छ भने साना तथा मझौला व्यवसाय, स्टार्टअपलाई अर्थतन्त्रको मेरुदण्ड मानेर सोहीअनुसार योजना अघि सारिनेछ।

यस्तै, पूर्वाधारमा लगानीको प्राथमिकता निर्धारण तथा ज्ञानमा आधारित अर्थतन्त्रको विकासलाई पनि भिजन पेपरमा समेटिएको छ। श्रम व्यवस्थापनलाई पनि यसमा जोडिएको छ। महासंघले जिम्मेवार निजी क्षेत्रको अवधारणा पनि भिजन पेपरमा अगाडि सार्ने भएको छ। यस्तै, स्थानीय सम्भावनाको मूल्यांकन गर्ने जनाइएको छ।

वि.सं. २०७८ भित्र विधान संशोधन हुने जनाइएको छ र यसका लागि पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको समितिले कार्यतालिकाअनुसार काम गरिरहेको उल्लेख गरिएको छ।