बङ्गलादेशबाट खरिद गरिएको मल वीरगञ्ज आइपुग्यो

काठमाडौं। बङ्गलादेशबाट खरिद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार पुगेको छ। रासायनिक मल खरिदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो।

भन्सारमा आइपुगेको रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ। नेपाल सरकार र बङ्गलादेश सरकार (जीटूजी) सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो।

बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५०० टन रासायनिक मल ल्याइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार कोलकाताबाट मल रेल तथा ट्रकमार्फत नेपालमा ल्याइनेछ। गएको बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  मानवाङ्ग बेचबिखनका आरोपित पक्राउ

यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ।