भागरथीको बलात्कारपछि हत्या अभियुक्तलाई बाल सुधारगृह पठाइयो

काठमाडौं। बैतडीको दोगडाकेदार वडा नम्बर ७ चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह पठाइएको छ।

घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेका भट्टलाई सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो।

भागरथीको हत्याका अभियुक्त भट्टलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृह दिपायलमा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले बताए।

गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो।

२१ माघमा बेपत्ता भएकी भट्टको भोलिपल्ट घर नजिकैको लबलेक जंगलमा शव फेला परेको थियो। सोही अभियोगमा ४ फागुनमा पक्राउ परेका दिनेशले आरोप स्वीकारिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  कैलालीमा निषेधाज्ञा थप गर्न सिफारिस