बाघको आक्रमणले एक महिलाको मृत्यु

कञ्चनपुर। बाघ आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका वार्ड नम्बर ३ भग्ग्रैया स्थित खाता सामुदायिक वनक्षेत्रमा घाँस काट्न गएकी २७ वर्षीया रिना सुनारको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

नेपाल भारत सीमाको पिलर नम्बर ८४ र ८५ को बीचमा साथीहरुसँगै घाँस काटिरहेको अवस्थामा सुनारलाई बाघले तानेर लगेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए। बाघले महिलाको घाँटी र छातीको मासु खाएको अवस्थामा शव भेटिएको जनाइएको छ।

पछिल्लो समय बर्दियामा बाघ आक्रमणको क्रम बढेको छ। खाता क्षेत्रमा हालसम्म ६ जनाले बाघ आक्रमणमा ज्यान गुमाइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा