कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न

काठमाडाैं। कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ। अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ। आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ।

सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पुर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए। उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राखिन्छ। पुनःनिर्माणपछिको शुरुआती चरणमा एक लाख लिटर पानी भर्ने योजना छ।

सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा कामपाको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरिएको छ। एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो।

अन्य सम्बन्धित समाचार:  माटोको ढिस्कोले पुरिएर आमा—छोराको मृत्यु

पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ। निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ। उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ। पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन्।

आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन्। वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ । त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ। पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ।

कामपाले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्सङ्ग रहेको स्थानलाई खुला गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  गाडीको ठक्करबाट सवारी चेकिङ गरिरहेका हवल्दारको मृत्यु

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ।  त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौँ ।

उनले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरे। कामपाले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो।

त्यसका लागि रु छ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ।