काठमाडौं मेयर कपको उपाधि नेपाल पुलिसलाई

काठमाडौं। महानगरपालीकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यानले) आयोजना गरेको काठमाडौं मेयर कपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ।  आज भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ८ विकेटले पराजित गरेको हो।

एपीएफले दिएको १०६ रनको लक्ष्य पुलिसले २४.१ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टायो। पुलिसलाई सहज जित दिलाउन सुनिल धमलाले अर्धशतकीय पारी खेले। ५९ रनमा अविजित रहेका उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

कुशल भुर्तेल र अनिल शाहले समान १५–१५ रनको योगदान दिए। दिपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे।  एपिएफका भुवन कार्की र अविनाश बोहराले समान १–१ विकेट लिए।  त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफ २९.४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको थियो। उसका लागि कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। वसन्त रेग्मीले सर्वाधिक २२ रनको योगदान दिए। 

अमरसिंह रौटेला र सन्दीप जोराले समान १८–१८, भुवन कार्कीले १४, अविनाश बोहराले १२ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।  एपिएफलाई सस्तैमा समेट्न पुलिसका गुलसन झा र सागर ढकालले ४–४, पवन सरार्फ र ललित राजवंशीले समान १–१ विकेट लिए। विजेता बनेको पुलिसले ५ लाख प्राप्त गर्दा उप विजेतामा सिमित बनेको एपिएफले ३ लाखमा चित्त बुझाएको छ। 

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो