नेपाल पक्षको समानान्तर कमिटीको धम्कीबाट प्रदेश सरकारलाई कुनै प्रभाव पर्दैनः मुख्यमन्त्री राई

अदालत

मोरङ। नेपाल कम्युनिष्ट पार्टी(एमाले) भित्र माधवकुमार नेपाल पक्षले समानान्तर रुपमा कमिटी गठन गरेर प्रदेश १ सरकारलाई कुनै प्रभाव नपर्ने मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

सर्वोच्च अदालतले तत्कालिन सत्तारुढ दल नेकपा पुरानै अवस्थामा रहने फैसला दिएसँगै एमालेभित्र नेपाल पक्षले प्रदेश १ को संयोजकको रुपमा भीम आचार्यलाई अघि सारेको छ। तर, मुख्यमन्त्री राई समानान्तर कमिटीको धम्की वा दबावबाट प्रदेश १ सरकारलाई कुनै प्रभाव नपर्ने बताउँछन्।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुख्यमन्त्री राईले भने, ‘समानान्तर कमिटी गठन गरेर धम्की दिँदैमा वा अरु प्रकारको निर्णय गरेर दबाव सृजना गर्ने कुराले एमाले वा प्रदेश सरकारलाई कुनै असर पार्दैन। हिजो नेकपाको राजनीतिमा जस्तो किचलो, बार्गेनिङ, रुवाबासी, भागवण्डा, तिकडम जस्ता कुराको अब एमालेभित्र गुन्जायस रहने छैन। एमाले अब विधि, पद्धती, विचार, कार्य सम्पादनसहित चल्नेछ।’

एमाले अब कार्य मूल्यांकन, जिम्मेवारी, पुरस्कारसंगै दण्डको प्रवन्धसहित अघि बढ्ने बताएका मुख्यमन्त्री राईले समानान्तर कमिटी, धम्की वा अन्य निर्णयबाट नेकपा एमालेलाई प्रभाव नपार्ने उल्लेख गरे।

अर्कोतर्फ त्यसकिसिमको प्रहार आइपरे आफूहरु त्यसको सामना गर्दै अघि बढ्न पनि तयार अवस्थामा रहेको उनको भनाई छ।