माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बस्दैछ। केन्द्रीय कमिटी बैठकबाट नेकपा (एमाले)मा गएका सांसदलाई कारबाही गर्ने तयारी गरिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा केन्द्रीय कमिटीको बैठक बोलाएर माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

जसमा ७ जना मन्त्री छन्। त्यो बैठकमा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यलाई भने बोलाइएको थिएन।

२९ फागुनमा बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा रहेका ७ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो। उनीहरुलाई फर्किने वा नफर्किने जबाफ दिन २४ घन्टे स्पष्टिकरण सोधिएको थियो।

आज बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको माओवादीका एक नेताले बताए। उनका अनुसार सरकारमा सहभागी ७ जना मन्त्रीलाई दलबाट निष्कासनको निर्णय गर्ने तयारी छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्डलाई ओलीको फोन, के भयो कुराकानी?

माओवादीले कारबाही गरेमा उनीहरुको सांसद पद गुम्नेछ। राजनीतिक दलसम्बन्धी ऐनले पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा पद गुम्ने व्यवस्था गरेको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने व्यवस्था गरिएको छ। उपदफा ९१० मा भनिएको छ, “कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सांसद, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दल त्याग गर्नसक्ने छैन।”