पेट्रोलियम अन्वेषणको काम सक्न चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम गर्न चैत १९ मा चिनियाँ विज्ञ टोली नेपाल आउने भएको छ।

यो चरणमा हुने ड्रिलिङ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ। अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि ब्याख्या गर्नेछ। यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ।

पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो।

पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए। ‘विज्ञसहित २३ जनाको टोली नेपाल आउँदैछ,’ उनले भने,’अहिले भिसा प्रक्रिया लगायतको काम हुँदैछ।’

घिमिरेका अनुसार अन्वेषणस्थलमा ड्रिलिङका लागि ३५ मिटरसम्म लामो फलामे पाइप (रेग) लैजानुपर्ने छ। तर, सडक साँघुरो र घुम्तिहरु सानो भएकाले अन्वेषणको काम आपूर्तिको काम चुनौतीपूर्ण छ।

यसअघि दैलेखको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेट्ने गरी साइस्मिक सर्वेक्षण गरिएको थियो।

पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढ्न लागेको हो।