सुनको चरम अभावको अन्त्य गर्न सरकारकाे ध्यानाकर्षण 

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको चरम अभावको जति सक्दो चाँडो अन्त्य गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।  आइतबार महासंघका अध्यक्ष रमेश महर्जनले मन्त्रीपरिषद् सचिवालयका सचिव वैकुण्ठ अर्याल मार्फत सुन आपुर्तिमा अव्यवहारिक किसिमले कटौती गरिएकाले चरम अभाव सृजना भएको र  यस्तो अवस्थामा हुने अवैध कारोबारले बजार तथा गहना व्यवसायीहरूलाई नै प्रतिकुल असर पर्ने तर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराएका हुन्। 

कोरोनाभाईरस महामारी र उत्पन्न परिस्थितिको सामना गर्न सरकारले गरेको देशव्यापी लकडाउनका कारण सुनको आयातमा कटौती गरि दैनिक २० देखि २५ किलो बिक्री हुँदै आएकोमा दैनिक १० किलोमा झारिएको र २०७७ कार्तिकदेखि सम्पूर्ण अर्थतन्त्रका सबै क्षेत्र पूर्ववत् रुपमा आइसकेकाले सुनको दैनिक कोटा पनि पुर्व स्थितिमा लैजानु अति जरुरी भएको महासंघले जनाएको छ। 

जसले गर्दा अवैध तत्वले चरम अभावको फाइदा लिनसक्ने र मागलाई धान्नै नसक्ने गरी अव्यवहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध व्यापार बढ्ने तथा राजस्व चुहावटको समस्या अधिक भएकाले हालको अवस्थामा दैनिक कोटालाई कम्तिमा ३० के.जी. बनाइनुपर्ने महासंघले माग गरेको छ। 

त्यसैगरी महासंघका अनुसार नेपाल राष्ट्र बैंकले मौजुदा सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोके अनुसार काठमाडौंको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर, र भद्रपुर लगायत अन्य आठओटा स्थानहरुबाट सुनको विक्री हुनुपर्ने छ।

साथै मुलुकभर सदस्यहरू रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघलाई जिल्लाको कोटा उपलब्ध नहुनु न्यायोचित नभएकाले यस महासंघलाई जिल्लाको कोटा उपलब्ध हुनुपर्ने महासंघले जनाएको छ। 

 

अन्य सम्बन्धित समाचार:  सेयर बजारमा ऐतिहासिक रेकर्ड