बोक्सी आरोपमा वृद्धामाथि कुटपिट

विराटनगर। मोरङमा बोक्सीको आरोपमा वृद्धा महिलामाथि निर्घात कुटपिट भएको छ। प्रहरीका अनुसार रतुवामाइ नगरपालिका – २ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेका हो। बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। कुटपिट र आक्रमणबाट वृद्धा बेहोस भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए।

वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले कुटपिट गरेका थिए। हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

घटनामा संलग्न भएको आरोपमा लखनलाल र हैरानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए। उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको राईले जानकारी दिए।