सिद्धबाबाविरुद्धको मुद्दा उच्च अदालतमा पुनरावेदन

काठमाडौं। बलात्कार आरोपमा सफाइ पाएका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्ध मुद्दाको पुनरावेदन हुन ढिलाइ भइरहेको गुनासोपछि बल्ल उच्च अदालत विराटनगरले फैसलाको सक्कल मिसिल झिकाउन पत्राचार गरेको छ।

सो फैसलाविरुद्ध २८ फागुनमा पुनरावेदनका लागि दर्ता भएपछि उच्च अदालतले सक्कल मिसिल झिकाउन सरकारी वकिलको कार्यालयलाई पत्राचार गेरेको हो।

गत २२ मंसिरमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई बलात्कार आरोपमा सफाइ दिएको थियो।

उच्च अदालत विराटनगरका प्रवक्ता मणिराम पोखरेलले सिद्धबाबाविरुद्धको मुद्दा २८ फागुनमै दर्ता भएको र सक्कल मिसिल झिकाउन फाँटले पत्राचार पनि गरिसकेको जानकारी गराए।

उनका अनुसार सक्कल मिसिल प्राप्त भएपछि मुद्दाको पेसी तोकिनेछ। प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ अनुसार अदालतले एक महिनाभित्र फैसला लेखेर प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि सुनसरी जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएको मुद्दा फैसला भएको ६५ दिन बितिसक्दा पनि लेखेको थिएन।

अन्य सम्बन्धित समाचार:  मलेसियाबाट ल्याइयो ९ श्रमिकको शव

फैसला लेखनमा ढिलाइ भएको भन्दै कानुन व्यवसायी र वादी पक्षले गुनासो गर्दै आएका थिए।

चौतर्फी दबाब परेपछि विवादास्पद न्यायाधीश अर्जुनप्रसाद कोइरालाले ७ फागुनमा बल्ल फैसला लेखेर अदालतलाई जिम्मा दिएका थिए।

न्यायपरिषद्को शुक्रबारको बैठकले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा फिारिस गरेको थियो।