पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। अर्का एक जना घाईते भएका छन्।

काँकडभिट्टाबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका–३ मार्तलपुल नजिक एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परी धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ। सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ। ट्रक, बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु