रसुवागढी नाकाबाट आयात बढ्यो

काठमाडौं। रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेको छ। गएको जेठ २२ गतेदेखि दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउने गरेकामा अहिले गाडीको सङ्ख्या थप भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

अहिले दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन्। सात वटा चिनियाँ गाडीले आयात गरेका सामग्री नेपाली १५ वटा मालवाहक कन्टेनरमा लोड गर्न सकिने कार्यालयले जनाएको छ।

अहिले चीनबाट रेडिमेड सामग्री, जुत्ताचप्पल, मेसिन, फर्निचरलगायतका सामग्री आइरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ।

यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ। तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन।

अन्य सम्बन्धित समाचार:  २३ किलो गाँजासहित तीनजना पक्राउ