तिब्बतसँग जोड्ने सुरुङमार्गको डिजाइन तयार

दोलखा। दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग १२ किमी निर्माण सुरु हुने भएको छ। लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म सुरुङमार्गको डिजाइनसमेत तयार भएको छ।

सडक विभागले उत्तर–दक्षिण करिडोरअन्तर्गत दोलखाको लामाबगरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेकोे हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुङ मार्ग निर्माणका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन्। सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ।

विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार सुरुङमार्गको निर्माणपछि चीनसँग जोडिने छोटो सडकमार्ग बन्नेछ। जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजना अनुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने उक्त नाका खुलाउन लागिएको छ।

अन्य सम्बन्धित समाचार:  माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दोलखाबाट भारत र चीनसँग जोड्ने यो नै उत्तम नाका हुने मन्त्री गुरुङले बताउँदै आएका छन् । माथिल्लो तामाकोशीको मुखबाट सुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए।

उक्त मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हेडवक्र्समाथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ। सो सुरुङसँगै थप ९ किमी सडक निर्माण भएछि मात्रै चीनसँग नाका जोडिने छ। उक्त मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडक बन्ने बताइएको छ।