एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४-१ गोल अन्तरले हराएको हो।
खेलको १३ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बन्यो।
पहिलो हाफको इन्जुरी समयमा राफाले पेनाल्टीमा गोल गर्दै हुयस्कालाई २-१ को स्थितिमा ल्याए। खेलको ५३ औं मिनेटमा ओस्कारले गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ को बनाए।
त्यसपछि खेलको ९० औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४-१ को जित दिलाए।
यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेलको कोशेढुंगा पूरा गरे।
मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन्।
यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ।
बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ। हुयस्का २० अंक जोडेर पुछारमा रहेको छ।