१५ चैतदेखि उपत्यकावासीको धारामा मेलम्चीको पानी

काठमाडाैं। बहुप्रतीक्षित मेलम्चीको पानी आगामी १५ चैतदेखि उपत्यकावासीको धारामा आउने भएको छ। सो दिन पानी वितरणका लागि सुन्दरीजलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को वितरण प्रणालीमा पानी पठाउन सुरु गरिने भएको छ।

‘१५ चैतमा सुन्दरीजलबाट केयुकेएलको वितरण प्रणालीमा पठाउन सुरु गर्छाैं,’ मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेस खत्रीले भने, ‘यतिवेला हामी सुरुङ परीक्षणको क्रममा छौँ। अहिलेसम्म सामान्य समस्या मात्र देखिएको छ । त्यसले खास असर पर्दैन ।’ सरकारले यसअघि मेलम्चीको सुरुङ परीक्षण दुई महिनासम्म गरिने घोषणा गरेको थियो ।

तर १५ चैतदेखि पानी वितरण गर्ने सरकारको तयारीसँगै अब तीन साता मात्रै सुरुङको परीक्षणकाल हुने भएको छ । गत १० फागुनमा सुरुङ परीक्षणकाल दुई महिना तोकिएको थियो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य

मेलम्चीको पानी सुरुङमा खसाएको ३५ दिनमै उपत्यकावासीको घरघरमा आउने भएको हो । गत १० फागुनमा २६ किलोमिटर मेलम्चीको सुरुङमा पानी खसाइएको थियो।

१३ दिनपछि १३ फागुनमा पानी सुन्दरीजलमा खसेको थियो । सोही दिन मेलम्ची पानी बागमती नदीमा छाडिएको थियो।

सुन्दरीजलबाट दैनिक १७ करोड लिटर पानी वितरणका लागि पठाइनेछ । सुन्दरीजलबाट पठाइएको पानी केयुकेएलको पुरानै वितरण प्रणालीबाट वितरण गरिनेछ।

शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न लागिएको आयोजनाले जनाएको छ। खत्रीका अनुसार सुख्खायामभरि मेलम्चीको पानी केयुकेएलको प्रणालीमा पठाइनेछ भने वर्षायाम लागेपछि सुरुङ खाली गरेर सुपरीवेक्षण गरिनेछ।