सीमा बन्दले ढुवानीमा बढी रकम

ताप्लेजुङ। ताप्लेजुङको ओलाङ्चुङ्गोला सीमा नाका १६ महिनादेखि बन्द छ। कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमका कारण टिप्ताला सीमा बन्द भएको हो। गत वर्षको मङ्सिरदेखि नाका बन्द छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमासमेत फैलिन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गरेको थियो।

गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए। सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएसँगै नाका बन्द भएको थियो। “आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलिनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो। नाकामा १६ महिनादेखि आवतजावत बन्द छ”, वडाध्यक्ष शेर्पाले भने।

वर्षाको समयमा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भर पर्छन्। वर्षामा बाढी पहिरोलगायतका कारण त्यहाँका स्थानीय सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन्। गाउँपालिका—७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका ८० प्रतिशत मानिस चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष शेर्पा भोटेले बताए। उनले भने, “लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनदेखि आउन बन्द भएको छ। याक, चौँरीका लागि नुनदेखि अन्य अति आवश्यक खाद्य सामग्रीमा ल्याउन पाएको छैन।” नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको वडाध्यक्ष भोटेले बताए। ओलाङचुङ्गोला समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पदर्छ। यस क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो।

याङ्मा समुन्द्र सतहदेखि चार हजार २०० मिटरमा पर्दछ । विगतमा याङ्मावासी चीनको बजारमा निर्भर थिए। लामो समयसम्ममा पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतदेखि नै याङ्मावासी चीनको बजारमा निर्भर थिए। याङ्मा बस्तीमा नाका बन्द भएदेखि नेपाली बजारमा भर पर्न थालेको छ।” नाका बन्द भएपछि आर्थिक सङ्कट हुँदै आएको चेम्जोङले बताए। चौँरी, याक तथा पशुजन्य खाद्य पदार्थको बजार चीन हो।

अन्य सम्बन्धित समाचार:  चौकीमा तोडफोड, दुई प्रहरी घाइते

ओलाङ्चुङ्गोला निवासी तेन्जिङ वालुङले चौँरी याक, घीउ, छुर्पी, याक र चौँरीका मासु, जमर (याकको पुछर) चीनको बजारमा व्यापार हुने भए पनि नाका बन्दका कारणले समस्या भइरहेको जानकारी दिए। एक त दुर्गम पहाडी जिल्ला, त्यसमा पनि अनेक समस्याले भरिएको यो ठाउँमा आयआर्जनका सबै उपाय बन्द भएकाले स्थानीयवासीको जीवन कष्टकर बन्दै गएको आभास भइरहेको छ।

पशु व्यवसायदेखि उत्पादन भएको पशुजन्य वस्तुहरुले बजार नपाएपछि व्यवसायी आर्थिक सङ्कटको चपेटामा परेको वालुङले बताए। ओलाङ्चुङ्गोलामा बुनेका गलैँचाले चीनमा राम्रो बजार लिएको छ। गलैँचा बिक्री गरेरै राम्रो आयआर्जन हुन्छ। तर अहिले यो सम्भावना समाप्त भएको स्थानीय लामा भुजुङ शेर्पाले बताए। उनले भने, “मेरो घरमा ५० वटा गलैँचा थुपारी राखेको छ। फुङलिङ बजारमा लगेर बेच्यो भने कम मूल्यमा बिक्री गर्नुपर्दछ। त्यसैले घरमै राखेको छु।” घर खर्च टार्न उत्पादन गरेको गलैँचा सदरमुकाम पु¥याएर उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको शेर्पाले बताए।

इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादन भएको चिराइतो नाका बन्द अगाडि नै चीन पठाउन ओलाङ्चुङ्गोलामा पु¥याएर राखिएको थियो। लामो समय सम्म नाका बन्द हँुदा फेरि सदरमुकाम हँुदै भारत पठाउनु परेको व्यापारी दावा च्युङदाक शेर्पाले बताए।

अन्य सम्बन्धित समाचार:  खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका कृषक निराश भएको ताप्लेजुङ सिरिङ्घा गाउँपालिका–७ यामफुदिन निवासी मनकुमार राईले बताए। उहाँले भन्नुभयो, “पहिला–पहिला चिराइतो खोज्दै व्यापारी घरघरसम्म आउँथे। तर आजभोलि चिराइतोको कुरा गर्ने व्यापारी भेटिँदैन।” चीनतर्फ चिराइतो निर्यात हुन छोडेसँगै खेती गर्न छोड्दै गएको फक्ताङलु गाउँपालिका—६ निवासी कृषक राजकुमार राईले बताए।

खाद्य सामग्री ढुवानी समस्या

लामो समय टिप्ताला नाका बन्द हुँदा ओलाङ्चुङ्गोला, याङमा, घुन्सा फले साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बसोबास गर्ने समुदायले सदरमुकाम फुङ्लिङ बजारमा निर्भर रहनुपरेको छ। सदरमुकामदेखि ओलाङचुङ्गोलासम्म ५० केजी चामल पु¥याउँदा प्रतिकेजी रु १०० ढुवानी पर्न आउँछ । ५० केजी चामल भएको एक बोराको रु पाँच हजार ढुवानी खर्च लाग्ने फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए।

ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि एक दिनमा रानी पुलसम्म गाडीमा सामान पु¥याउन सकिन्छ। रानी पुलदेखि खच्चड र मान्छेले बोकेर ओलाङचुङ्गोला, याङ्मा, फले र घुन्सा जस्ता तीन हजार २०० देखि चार हजार ५०० सम्मको उचाइका बस्तीहरुसम्म खाद्य सामग्री ढुवानी गर्नु पदर्छ। सामान खरीद गरेको पैसाभन्दा ढुवानीमा तीन गुणा बढी खर्च लाग्ने भोटेले बताए।

नाका बन्दा नहुँदा चीनदेखि टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो। सीमा क्षेत्रदेखि आफ्नै याकलाई सामान बोकाएर घरसम्म पु¥याउने गरेको भोटेले जानकारी दिँदै भन्ने, “चीनदेखि सामान ल्याउँदा ढुवानी खर्च एकदम कम लाग्ने, तर सदरमुकामदेखि ल्याउँदा सामान खरीद गरेको तीन गुणा बढी खर्च पर्न आउँछ।”