हत्यापछि बोरामा हालेर फालिएको अवस्थामा एक महिलाको शव फेला

माेटरसाइकल

काठमाडौं। काठमाडौँको बल्खुमा बोरामा हालेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। बल्खुको सुकुम्बासी बस्तीमा सोमबार बेलुका बोरामा हालेर फालिएको अवस्थामा स्थानीय ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव भेटिएको प्रहरीले जनाएको छ।

बोराबाट रगत बग्दै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बोरा खोलेर हेर्दा काटिएको अवस्थामा सन्तोषीको शव भेटिएको हो। उनका श्रीमान सन्तोष सापकोटा भने फरार छन्। उनीहरुको घरमा रगत भेटिएकाले सन्तोषीको हत्या उनकै श्रीमान सन्तोषले गरेको आशंका गरिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको र फरार सन्तोषको खोजी भइरहेको प्रहरीले जनाएको छ। सन्तोषी गएको चैतदेखि जोरपाटीस्थित माइती घरमा १० वर्षका छोरासहित बस्दै आएकी थिइन्। सोमबार बल्खुको सहकारीमा ऋण तिर्न आएका बेला उनी घर पसेकी थिइन्। उनले विगत केही समयदेखि सम्बन्ध विच्छेदका लागि आग्रह गर्दै आएकी थिइन्।