महिलालाई स्कुटर चलाउन तालीम

बनेपा। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ। तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता छ। नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिए।

नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताए। प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गरे।

तालीम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताए। नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यसअघि नगरपालिकाले सीप विकासअन्तर्गत ३० महिलालाई व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि लप्सीको परिकार बनाउने तालीम दिएको थियो।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति