६ दिनपछि हरियो भयो नेप्से

काठमाडौं। गत सातादेखि लगातार ओरालो लागिरहेको सेयर बजारमा साताको तेस्रो दिन आज भने एकल अंकको सामान्य सुधार भएको छ। लगातार ५ दिनसम्म घटेको सेयर बजार परिसूचक छैठौं दिनमा भने सामान्य सुधार भएको हो।आज बजार परिसूचक नेप्से २.२६ अंकले बढेर २३९१.७५ अंकमा बन्द भएको छ। फागुन ९ गते २६४० अंकको ऐतिहासिक बिन्दुमा पुगेर ओरालो लागेको नेप्से फागुन १९ गते २४१६ अंकसम्म झरेर पुनः २५०० अंक माथि पुगेको थियो। तर पछिल्लो ५ दिन लगातार घटेको नेप्से माघ १८ गतेपछि हिजो सोमबार २४०० अंक बिन्दुबाट झरेको थियो।

आज सुरुवाति समयदेखि नैं उतारचढाव देखिएको बजारमा ‘इन्ट्रा–डे’ कारोबारमा बजार उकालो लाग्ने संकेत देखाउँदै २४०० अंकको बिन्दु पार २४१७.४७ अंकसम्म पुगेको थियो। साथै आज २३६९.३२ अंकको न्युन बिन्दु कायम गरेको बजार परिसूचकमा समान्य सुधार भएको हो। आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङ उपसूचकका साथै होटेल तथा पर्यटन, वित्त कम्पनी, उत्पादन, लघुवित्त, जीवन बिमा र लगानी उपसूचक बढेको छ। त्यस बाहेकका अरु उपसूचक भने घटेका छन्।

अन्य सम्बन्धित समाचार:  नेप्से ३७.५८ अंकले घट्यो

आज नेप्सेमा ४६ हजार ५४० वटा कारोबारमा २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजारको कारोबार भएको छ।