राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठक सुरु, नेपाल र खनाल उपस्थित भएनन् 

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको छ। बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी भएका छन्।

यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी भएका छन्। जसपाबाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी भएका छन् भने नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी भएका छन्।

अन्य सम्बन्धित समाचार:  एमाले सांसद बसेको घरमा ढुंगा प्रहार गर्ने युवक पक्राउ

राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएकी हुन्। नेकपा एमालेका वरिष्ठ नेताद्वय एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका छैनन्।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दुवै नेता बैठकमा सहभागी नभएको जानकारी दिए। ‘भोलिदेखि पार्टीकै राष्ट्रिय कार्यकर्ता भेला बोलाइएकाले उहाँहरु त्यसैमा व्यस्त हुनुहुन्छ,’ उनले भने।