सिन्धुलीमा जिप दुर्घटनाः ४ जनाको मृत्यु, ७ जना घाइते

सिन्धुली। सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी गइरहेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज दिउँसो भएको उक्त दुर्घटनामा परि ७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना हो। उक्त दुर्घटनामा परि कमलामाई – ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षका छोरा मनिष श्रेष्ठको मृत्यु भएको हो।

घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए।

उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौँ पठाउन लागिएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो