तेस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित

भारतविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली इंग्ल्यान्ड विजयी भएको छ। अहमदाबादमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो।

जितसँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ। भारतले दिएको १ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

इंग्ल्यान्डको जितमा जोस बट्लरले ८३ रनको अर्धशतकीय इनिङ्स खेले। अविजित रहेका उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित रहदै ४० रन बनाए । डाविड मालन १८ रनमा आउट हुँदा जासन रोयले ९ रन बनाए।

भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाललाई मलेसियाले दियो ११० रनको लक्ष्य

भारतका कप्तान विराट कोहलीले अविजित रहदै ७७ रन बनाए पनि जितका लागि पर्याप्त भएन।