अल्पमतमा पर्ने गल्ती गर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन्। उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो।

माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो। जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ । माओवादीका साथीहरु अहिले पनि मिलिरहेकै छन् र मिल्ने सिलसिला जारी पनि छ।  प्रचण्ड गुट पनि मिल्छ भने ठिकै छ। निर्वाचन आयोगले १५ दिनको समय दिएकै छ। तर, अब हिजोको जस्तो एकता हुँदैन। किनभने गलत आधारमा र गलत तरिकाले वा गलत शक्ति दिएर एकता गर्यो भने त्यसको परिणाम राम्रो आउँदो रहनेछ भन्ने मैले देखिसकेँ। उपयुक्त आधारमा एकता हुन्छ भने ठीक छ।’

उनले थपे, ‘उनीहरुले माने भने सम्भावना हुन्छ। सबैले स्पष्ट के बुझे हुन्छ भने अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ। अल्पमतमा एकछिन पर्दा के हुँदो रहेछ भन्ने मैले देखेँ। बहुमत बनाइदिएँ उनीहरुको मैले। एकताका लागि मिलेर मात्रै निर्णय गर्न पाइने नीति छ। त्यो उहाँहरुले मान्नुभएन। बहुमत हुनेबित्तिकै उहाँहरु छुरी लिएर रेट्न थाल्नुभयो। मेरो त हातखुट्टा समाइहाल्नुभयो। रेटिएर मारिन मान्छन् कि मार हान्छौँ छ्याम्म पारेर, त्यो चाहिँ मान्छन्, लु रोज भन्न थाल्नुभयो। मैले रेटिन पनि मञ्जुर छैन, मार खान पनि मञ्जुर छैन भनिदिएँ।’
अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग