नाइजरमा सशस्त्र समूहको आक्रमणबाट ५८ जनाको मृत्यु

दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ। तिलाबेरी क्षेत्रको साप्ताहिक बजारबाट फर्किने क्रममा चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो।

मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन।

नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारीयाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणासमेत गरेको छ। अहिले सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन्।

पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ। आक्रमणकारीहरुले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको हत्या गरेका थिए।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार