पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण

काठमाडौं। पशुपतिनाथ मन्दिरमा ११ महिनापछि सुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढेको छ। गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५ गतेदेखि मात्र सुरु भएको थियो। विशेष पूजा सुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ। कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउने क्रम बढ्न थालेको हो।

महाशिवरात्रिका दिन मात्र पशुपतिनाथ मन्दिरमा ३१ लाख १२ हजार ३ सय रुपैयाँको विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए। महाशिवरात्रिका दिन पाँच हजार १ सय र रु ११ हजार गरी दुई किसिमका रसिद काटी विशेष पूजा गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

पाँच हजार १०० को विशेष पूजा ३७५ र ११ हजारको विशेष पूजा ११० जना भक्तजनले गरेको उनले बताए। पाँच हजार १०० को पूजा गर्ने दुईजना कर्ता र ११ हजारको पूजा गर्ने चारजना कर्तालाई महाशिवरात्रिका दिन पशुपतिनाथ मूल मन्दिरमा दर्शन गर्ने व्यवस्था गरिएको थियो।

यही फागुन २५ गतेदेखि एक हजार १ सयदेखि २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको छ। पशुपतिनाथ मन्दिरमा एक हजार १ सयदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ। कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो। कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने गरेको छ। विशेष पूजाबाट कोषलाई वार्षिक १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

अन्य सम्बन्धित समाचार:  होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने