काठमाडौँमा लागुऔषध भित्रिने क्रम वृद्धि

काठमाडौं। काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ। प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम नभएकाले प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय हुन पाउँदा यसमा उपलब्धि हासिल भइरहेको बताउँछन्।

उनका अनुसार अन्य आपराधिक गतिविधि चोरी ठगी गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेको जानकारी दिए । प्रहरीले लागुऔषध कारोबारी सक्रिय भएको आशङ्कामा नाका र सम्भावित जोखिम क्षेत्र पहिचान गरी सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ। प्रहरीले काठमाडौँको नाका नागढुङ्गाबाट ठूलो परिमाणमा लागुऔषधसहित १३ वर्षका बालकलाई पक्राउ गरेको थियो। फागुन अन्तिम साता रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नंको बसमा सवार उनको झोलाबाट एक हजार ९०० एम्पुल लागुऔषध भेटिएको थियो।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले निर्माणाधीन पुल उडायो

उनको झोलामा डाइजेपान ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको थियो। यसरी लागुऔषध उनले आफैँले ल्याएको नभई उनलाई कसैले प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ। यद्यपि उनको विषयमा प्रहरीले अनुसन्धान जारी रोखेको छ। यही चैत २ गते काठमाडौँ महानगरपालिका–४ स्युचाटारबाट सोलुखुम्बु आङ्गु शेर्पा पनि दुई हजार ३७५ एम्पुल लागुऔषधसहित पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा उनलाई फेला पारी कोठा खानतलासी गर्दा उनका साथबाट डाइजेपाम ८११ एम्पुल, फेनारगन ७८४ एम्पुल, नुरफिन ६०० एम्पुल १७९, लुपुजेपाम १७९ एम्पुल र नाइटेजेपाम एक हजार २०० एम्पुल बरामद गरेको छ ।

यही चैत ३ गते पनि भारत मोतिहारीका सुवासकुमार यादव र पप्पु यादवबाट प्रहरीले एक हजार ४९० एम्पुल लागुऔषध बरामद गरेको छ। उनीहरू पनि अनुसन्धानको दायरमा छन्। पछिल्लो समयमा ठूलो परिमाणको लागुऔषधसहित मानिस पक्राउ परिरहेका छन्। यी त प्रतिनिधि घटना मात्र हुन्। उक्त घटनाले काठमाडौँको उपत्यकामा लागुऔषध भित्रिने मात्रा बढेको देखिएको छ।

अन्य सम्बन्धित समाचार:  सिमकोट विमानस्थल जोखिममा

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर प्रहरीले सक्रियता देखाएकाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेको बताउँछन्। यसअघि कोभिडका कारण प्रहरीले पनि सक्रियतापूर्वक काम गर्न नसकिरहेका बेला कोभिड सङ्क्रमण नियन्त्रणतर्फ गएकाले प्रहरीले अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा केन्द्रित हुन थालेको छ।