बर्दियामा ‘मान्छे खान पल्किएको’ बाघ समातियो

काठमाडौं। बर्दियामा बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि एउटा बाघ समातिएको छ। मानिसलाई आक्रमण गर्दै आतंक मच्याउने एउटा बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट बुधबार नियन्त्रणमा लिइएको जनाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले बताए।

मंगलबार पनि उक्त बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निगुरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको मृत्यु भएको सुवेदीले जानकारी दिए। हालसम्म बाघको आक्रमणबाट बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा १० जनाको मृत्यु भइसकेको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नियन्त्रणमा लिइएको हो। बाघलाई नियन्त्रणमा लिन लट्याउने ओषधि प्रयोग गरिएको जनाइएको छ। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जभित्र खोरमा राखिने छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत