नेकपा एमालेको संसदीय दलको बैठक बस्दै, नेपाल समूह नजाने

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाएका हुन्।

बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा डाकिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाए पनि एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल भे बैठकमा नजाने भएको छ।

उक्त समूहले ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ। कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने माधव नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए।

आजका लागि डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमासमेत आफूहरु सहभागी नहुने नेता भट्टराईको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा

सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २०७५ सालको जेठ २ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने नेपाल-खनाल समूहको अडान छ।

गएको फागुन २८ गतेको ओली समूहको बैठकले जिम्मेवारी हेरफेरसहित महत्त्वपूर्ण निर्णय गरेलगत्तै नेपाल-खनाल समूह थप असन्तुष्ट छ। यो समूहले बालुवाटारमा आयोजना भएको चियापान कार्यक्रमसमेत बहिस्कार गरेको थियो।