ग्यास लिक भएर आगलागी हुँदा चार घर जले, एक जना घाइते

राजविराज। ग्यास लिकेज भएर बुधबार राति सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ। तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित हरिकिसुन खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको वडा अध्यक्ष राजेन्द्र साहले जानकारी दिए।

आगलागीबाट चार घर जलेर नष्ट हुनुका साथै हरिकिसुन गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि तिलाठी कोइलाडी गाउँपालिकाको एम्बुलेन्सबाट राति नै राजविराज ल्याइएको गाउँपालिका अध्यक्ष सतिशप्रसाद सिंहले बताए।

खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भएर खंगसहित रामचन्द्र खंग, नकछेदी खंगको चार घर जलेर नष्ट हुँदा घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, खाधान्न, सरसामानहरु जलेर नष्ट भएको छ। आगलागीमा करिब २० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।

अन्य सम्बन्धित समाचार:  बागलुङका ३० वनमा आगलागी

राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा बर्साइन प्रहरी चौकी, हनुमाननगरस्थित सशस्त्र प्रहरी बल, बर्साइन कुशहाको सशस्त्र प्रहरी बलको टोली तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन्।