सेयर बजार ४३ अंकले बढ्यो

काठमाडौं। सेयर बजारको परिसूचक नेप्से आज करिब ४३ अंकले उकालो लागेको छ। ४२.९५ अंकले बढेको परिसूचक २४७५ अंकमा कायम भएको छ। आज कारोबार रकममा पनि केही मात्रामा सुधार आएको छ। हिजो ४ अर्बमुनिको सेयर कारोबार भएकोमा आज ४ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज ब्यापार बाहेकका सबै समूह बढेका छन्। सो समूह ३९ अंकले घट्यो।

बैंकिङ २६, होटल तथा पर्यटन ११२, विकास बैंक २४, जलविद्युत ३, फाइनान्स १४, निर्जीवन बीमा १९१, उत्पादन १६२, अन्य ४१, माइक्रोफाइनान्स १०२, जीवन बीमा ४१५ र लगानी समूह १ अंकले बढेको छ। आज दिन ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ग्रिनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मर्दी, चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतले बढेको हो।

अन्य सम्बन्धित समाचार:  नेप्से ३७.५८ अंकले घट्यो

आजको कारोबारपछि ग्रिनलाइफको मूल्य प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ। त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य १२९२ रुपैयाँ कायम भयो। नबिलसँगको मर्ज हल्लाका कारण नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतकै हाराहारीमा बढेर ३४९ रुपैयाँ पुगेको हो।

यस दिन जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा पनि नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मुल्य घटेर ५२५ रुपैयाँमा झरेको छ।