सोलुखुम्बुमा एक महिनामै दुई मोटरेवल पुल निर्माण

सोलुखुम्बु। जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा २८ दिनमै दुई वटा मोटरेबल पुल निर्माण गरिएको छ। मङ्सिर १० गते शिलान्यास गरिएको मोटरेवल पुलको काम २८ दिनमा सम्पन्न भएको बेनी हाइड्रोपावर प्रोजेक्टका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले जानकारी दिए।

बेनी हाइड्रोपावर सोलुदूधकुण्ड नगरपालिका–२ जुनवेशी हुँदै बग्ने इडिङबासा र मिन्जुङ खोलामा निर्माण गरिएको सो पुलको उद्घाटन गरिएको जनसम्पर्क अधिकृत शेर्पाले बताए। इडिङबासा खोलामा रु ६८ लाख ३६ हजार २३७ को लागतमा १३ मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल निर्माण गरिएको कम्पनीले जनाएको छ। यस्तै मिन्जुङ खोलामा रु ११ लाख ९९ हजार १५८ मा तीन मिटर लम्बाइ ४।६ मिटर चौडाइको निर्माण गरिएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  धनगढीबाट काठमाडौंका लागि उडेको जहाज भैरहवामा अवतरण

उक्त पुलको क्षमता ३० टन रहेको निर्माण कम्पनीले जनाएको छ। नवनिर्मित पुलको उद्घाटन सेरलो गुम्बाका प्रमुख धर्मगुरु पेमा थार्चेन रेम्पोच्छेले गरेका छन्। हिमालय बौद्ध विद्यापीठ सेर्लोले आयोजना गरेको उक्त कार्यक्रममा सयौँ स्थानीयको उपस्थिति थियो। बेनी हाइड्रोपावर कम्पनीले सामाजिक उत्तरदायित्व शीर्षकको बजेटबाट निर्माण गरेको पुल गुणस्तरीय भएको स्थानीयको प्रतिक्रिया छ। छोटो समयमा गुणस्तरीय काम हुनु स्थानीयको लागि खुशीको कुरा रहेको उनीहरूको भनाइ छ।

सामाजिक उत्तरदायित्वको बजेट कम भए पनि स्थानीयको मागअनुसार आफूले काम गरिहेको बेनी हाइड्रो पावरले जनाएको छ। पुल, सडक र बिजुली बत्तीको क्षेत्रमा आफूहरूले काम गरेको कम्पनीका अधिकृत शेर्पाको भनाइ छ। सोलु खोलामा निर्माणाधीन बेनी हाइड्रोपावर १९ मेगावाटको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सिमकोट विमानस्थल जोखिममा