सडक स्तरोन्नतिले धनगढीको मुहार फेरिँदै

कैलाली। सडक सञ्जालको विकास एवं स्तरोन्नतिको काम शुरु भएसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी शहरको मुहार फेरिने भएको छ। शहरका रुपमा स्थापना भएपछि विभिन्न सडक पूर्वाधार निर्माण हुँदै गर्दा धनगढी शहरको मुहार फेरिने देखिएको हो।

धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको १४ दशमलव दुई किलोमिटर लामो सडकमध्ये ग्रामीण बस्तीको सडकखण्डमा ‘चार लेन’ र बाँकी खण्डमा ‘छ लेन’ सडक निर्माण हुँदै छ। छ लेन सडक आयोजना कार्यालयका इञ्जिनीयर लक्ष्मणबहादुर रावलले आगामी छ महीनाभित्र निर्माण कार्य पूरा गर्ने गरी काम भइरहेको बताउनुभयो। तीन चरणमा निर्माण भइरहेको यो सडकको मोहना पुलदेखि गेटासम्मको खण्डमा कालोपत्र गर्ने काम पूरा भइसकेको छ।

गेटादेखि अत्तरिया चोकसम्मको खण्डमा कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ। पहिलो चरणअन्तर्गतको सडकखण्ड कालोपत्र भइसकेको छ। गेटा खण्डमा पर्ने सुनिखोला पुलको ठेक्का सम्झौता भइसकेको छ भने मनहरा खोला पुल निर्माणका लागि एक डेढ महीनामा सम्झौता भइसक्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

कैलाली भन्सार कार्यालय नजिकको मोहना नदीमाथि हाल चालू अवस्थामा रहेको पुलको समानान्तर हुने गरी अर्को पुल बनाउने काम भइरहेको छ। “हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ”, इञ्जिनीयर रावलले भने, “छ महीनाभित्र जसरी पनि काम पूरा गर्ने लक्ष्यमा हामी छौँ।” यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन्। पहिलो चरणमा काम गर्ने निर्माण कम्पनीको निर्माण अवधि छ महीना थप भएकामा आउने जेठमा यो अवधि सकिँदै छ।

दोस्रो र तेस्रो चरणमा काम गर्ने निर्माण कम्पनीको म्याद गएको माघ महीनामै सकिएपछि उनीहरुको निर्माण अवधिको म्याद थप गर्ने पहल भइरहेको छ। मुअब्जा वितरण र रुख कटानीको प्रक्रिया पूरा गर्दा शुरुको चरणमा काम शुरु गर्न ढिलाइ भएको थियो।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

पछिल्लोपटक कोरोना भाइरस सङ्क्रमणको जोखिमले निर्माणको काम रोकिएको थियो। निर्माणाधीन सडकको दायाँबायाँ रेलिङ बार लगाउने कार्य भइरहँदा आसपासका व्यापारीले आफ्नो पसल अगाडि बार लगाएर छेक्न नहुने भन्दै विरोध गरेका कारण समस्या उत्पन्न भइरहेको रावलले बताए । सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य अत्तरिया–धनगढी सडकखण्डमा दैनिक सानाठूला चार हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ।