भारतमा एकैदिन झण्डै ४१ हजार कोरोना सङ्क्रमित

काठमाडौं। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन्।

सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ। ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ। ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। कोरोनाभाइरसबाट महाराष्ट्र प्रदेश सवैभन्दा बढी प्रभावित भएको छ। महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा १३ हजार ६०१ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा ५८ जनाको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो