मनाङमा ट्रक दुर्घटनाः नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु

मनाङ। मनाङको नासों गाउँपालिका ४, खोत्रोमा आज दिउँसो ट्रक दुर्घटना हुँदा नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ। लमजुङ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं। ट्रक दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङ छन्। मृतक लिउन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्।

सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ‘ब्याक’ हुँदा सडकबाट करिब ४५ मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेको जनाइएको छ। दुर्घटनामा ट्रकका चालक लमजुङका सुमन तामाङ, सहचालक लक्ष्मण नेपाल, नासों गाउँपालिका अन्दाजी ७ वर्षीय थिउन गुरुङ, ६ वर्षीय निहल र चामे गाउँपालिका ४ का २५ वर्षीय धनमान विश्वकर्मा रहेका छन्। आज दिउँसो करिब साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

दुर्घटनाका घाइते भएकालाई उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको छ। मृतक ३ जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा पठाइएको प्रहरीले जनाएको छ।