टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं। झापामा टिप्परले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ। दमकमा​ शनिवार साँझ​भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–८ का २३ वर्षीय नीरन बस्नेत र त्यही ठाउँका २४ वर्षीय अनिष कोइरालाको ज्यान गएको हो।

पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगान सडकखण्डमा प्रदेश-१-०२-००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश-१-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

इलाका प्रहरी कार्यालय दमकले टिप्पर चालक दमक(४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी गराएको छ।

टिप्परले ठक्कर दिँदा घाइते भएका बस्नेतको शनिवार साँझ बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कोइरालाको पनि उपचार गर्न लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।