कालीगण्डकीमा जल यातायातको सम्भावना

पाल्पा।  प्रसिद्ध कालीगण्डकी नदीमा जल यातातको सम्भाव्यता अध्ययन भएको छ। जलयातायात सञ्चालनका निम्ति हालै स्थलगत सर्भे समेत भएको छ। पाल्पाको राम्दीदेखि तनहुँको देवघाटसम्म जल यातायात सञ्चालनका निम्ति छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो।

राम्दीदेखि देवघाटसम्म १ सय ३५ किलोमिटर जल यातायात सञ्चालनको योजनाअन्तर्गत सर्भे गर्दा सम्भावना देखिएको जनाइएको छ। सरकारले विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालनका निम्ति परीक्षण गर्न सर्भे गरिएको नेपाल पानी जहाज कार्यालय काठमाडौंका निमित्त प्रमुख विपीनराज भण्डारीले जानकारी दिए।

उनका अनुसार अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने पानी जहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिक रुपमा नेपालका नदीमा पानीको बहाव अनुसारका साना खालका पानी जहाज सञ्चालन गरिने योजना छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे

यहाँका अनुसार कोशी नदीमा तुम्लीङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट गण्डकसम्म, कालीगण्डकीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्भेको काम गरिएको छ।

जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेको बताए। जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलोपटक अत्याधुनिक मेसिनबाट पानीको गहिराई नाप गरिएको, केही ठाउँमा गहिराई नपुग्ने तथा छेउछाउका ढुंगा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए।

यसअघि पानीजहाज सञ्चालनका सम्बन्धमा नेपाल पानीजहाज कार्यालय काठमाडौंको टोलीले रामपुर नगरपालिकाका पदाधिकारीसँग पनि छलफल गरेको थियो।