कैलालीका किसानलाई चैते धान रोप्ने चटारो

कैलाली। कैलालीको भजनी नगरपालिका– ३ का खडक साउद यतिबेला खेतमा व्यस्त छन्। चैते धान रोप्ने चटारोले खडकको परिवार सबै खेतमै हुन्छन्। उनले भजनीका अधिकांश किसान अहिले धान रोप्ने चटारोमा रहेको बताए।

‘गत साउनमा आएको बाढीले किसानले लगाएको अधिकांश धानबाली नष्ट गर्यो। धेरै किसानले वर्षे धान भित्र्याउन पाएनन’ खडकले भने, ‘यस वर्ष सबै किसान चैते धानको पछाडि लागेका छन्। उत्पादन राम्रो, डुबान र बगानको समस्या पनि नहुने समयमै धान भित्र्याउन पाउने भएकै कारण किसानको आकर्षण बढ्दै गएको हो।’

भजनी – ७ चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त हुन्छन्। उनले हरेक वर्ष करीब एक बिघा जग्गामा चैते धान रोप्दै आएका छन्। उनको पाँच जनाको परिवारलाई त्यही खेतमा फलेको चैते धान वर्षभरिका लागि खान पुग्छ । ‘यस क्षेत्रमा वर्षे खेती हुँदैन। हिउँदमा दुई खेती गर्ने गरेका छौँ’ मणिरामले भने, ‘दलहन र तेलहन बाली भित्र्याएपछि धानखेती हुन्छ भने हाम्रा लागि वर्षात्को समयमा फुर्सद हुन्छ।’

मलवारा क्षेत्रका कतिपय किसान चैते धान रोप्नमा व्यस्त छन्। जिल्लाको भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका किसान चैते धानखेती गर्दै आएका छन्। भजनी क्षेत्रमा वर्षे धानको उत्पादन त्यति राम्रो हुँदैन। त्यसैमा पनि बाढीका कारण लगाएको खेती पनि किसानले भित्र्याउन पाउँदैनन्। चैते धानकै कारण किसानले भात खान पाएको उनीहरुको भनाइ छ।

चैते धानखेती किसानका लागि थप आम्दानीको स्रोत बनेको छ। उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मसुरोलगायतका बाली फलाउँछन्। कतिपय किसानले दोहोरो धानखेतीसमेत गर्ने गरेका छन्। बाढी प्रभावितबाहेकका क्षेत्रका किसानले दोहोरो धानखेती गर्ने गरेको पाइन्छ। जानकी गाउँपालिका– ७ मुनुवाका हरिप्रसाद कठरीया वर्षेनी दुईपटक धान रोप्छन्। उनका अनुसार एकपटकको धानखेतीले परिवार पाल्न पुग्छ भने अर्को पटकको धानखेतीको उत्पादन बेच्ने गर्छन्। उनले पनि वर्षेनी एक बिघा क्षेत्रफलमा धानखेती गर्ने गरेको बताए।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

‘चैते धानखेती थप आम्दानीको स्रोत बनेको छ। केही वर्ष सिँचाइको समस्याले धान रोपाइ हुन सकेको थिएन’ उनले भने, ‘रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कुलामा पानी छोड्न थालेपछि पुनःचैते धानको रोपाइँ शुरु भएको हो । यसले मेरो आर्थिक अवस्थामा सुधार भइरहेको छ।’

खासगरी बाढी प्रभावित क्षेत्रका किसान चैते धान रोप्ने गरेका छन्। उनीहरु वर्षायाममा धानखेती रोप्न पाउँदैनन्। उनीहरुको खेतबारी बाढीले चुर्लुम्म डुब्ने गरेका कारण धानखेती रोप्न समस्या हुने गरेको छ। ‘हरेक वर्ष बाढीले खेतबारी समुन्द्र बन्छ, कसरी धान रोप्नु ? रोपेको धान पनि खेतमै सखाप हुन्छ।’ भजनी नगरपालिका– ३ कुसुमघाटका विजय साउदले भने, ‘चैते धान नै परिवार पाल्ने स्रोत बनेको छ। चैते धान रोपेन भने भोकै बस्नुपर्छ। किसानले चैते धान रोप्न उपयुक्त समयको ख्याल गर्नुपर्छ। थोरै मात्रै समय अघिपछि भए धान उत्पादन राम्रो नहुने किसान बताउँछन्। ‘चैते धान रोप्न सहज छैन। हरेक कुराको ख्याल गर्नुपर्छ।’ किसान साउँदले भने, ‘समयमै रोपेर समयमै भित्र्याउन नसके धान बिग्रन थाल्छ भने उत्पादनमा समेत ह्रास आउँछ।’

चैते धानखेतीका लागि किसानले सिँचाइ र रासायनिक मलकोसमेत समस्या भोग्दै आएका छन। उनीहरुले बोरिङ मोटरका माध्यमबाट सिँचाइ गर्दै आएका छन् भने रासायनिक मल भने भारतीय सीमावर्ती बजारबाट किनेर ल्याउनुपर्ने बाध्यता छ । उनीहरुले समयमा रासायनिक मल पाउन नसके चैते धान खेती प्रभावित हुने गरेको छ।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

चैते धानको खेतीमा खर्च भने बढी हुने गरेको किसान बताउँछन् । ‘सिँचाइको सहज सुविधा हुँदैन । बोरिङ मोटरबाट सिँचाइ गर्दा खर्च बढ्ने गरेको छ।’ भजनी नगरपालिका–८ का किसान समीर चौधरीले भने, ‘खेती नगरे पनि खान चाहिन्छ, गरौँ भने पनि खर्च बढी छ।’ उनलेसमयमै भित्र्याउन नसके वर्षात्का समयमा धान खेतमै रहने बताउँदै छिटै वर्षायाम शुरु भए पनि धान भित्र्याउन समस्या हुने गरेको बताए।

कृषि ज्ञानकेन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले गत वर्षको तुलनामा यस वर्ष चैते धान रोपाइँको क्षेत्रफल बढ्ने जानकारी दिए । ‘गत वर्ष करीब एक हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको खेती भएको थियो। यस वर्ष दुई हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदैछ’ उनले भने, ‘हामीले पनि भजनी क्षेत्रमा निःशुल्क ६० देखि ७० मेट्रिकटन धानको बीउ वितरण गरेका छौँ । बाढीपीडित क्षेत्रमा चैते धानको खेती वर्षेनी थपिँदै गएको छ।’

उनले वर्षे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने भएका कारण किसान बढी आकर्षित हुने गरेको बताइँदै धानका लागि अहिलेको मौसम उत्तम भएको बताए। ‘आकाश खुला हुँदा प्रकाशको किरण पाउँछ। रोग र किराको सङ्क्रमण हुन पाउँदैन’ उनले भने, ‘मौसमकै कारण धान उत्पादनमा राम्रो हुने गरेको हो। उत्पादन बढी हुने भएकाले पनि चैते धानमा आकर्षण बढेको हो।’