काठमाडौं। बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिनेश भट्टले आफूलाई जवर्जस्ती घटना कबोल गर्न लगाइएको बताएका छन्। दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या अभियोगमा दिपायलस्थित बालसुधार गृहमा रहेका दिनेशले शनिवार आफ्ना बुवासँगको भेटमा आफूले घटना नगराएको जानकारी दिएका हुन्।
दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साविती बयान दिन लगाएको बताएको उनका बुवा दीपकराज भट्टले बताए। दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन्। उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ।
ती दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई नचिनेको दिनेशले बुवालाई सुनाएका थिए।दिनेशको परिवारले दोषिलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको दाबी गर्दै घटनाको सत्य, तथ्य छानविन हुनु पर्ने माग गरेको छ। यसअघि घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेका भट्टलाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बालसुधार गृहमा राख्ने आदेश दिएको थियो।