काठमाडौं। नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा टिकटक बनाएको भन्दै बालविवाह गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ।
कक्षा ८ मा पढ्दै गरेका केटा केटीले टिकटक भन्दै सिउँदोभरि सिन्दुर हालेपछि शंका लागेर एक किशोरले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले तत्काल उनीहरुलाई पक्राउ गरेपनि केटाले टिकटक बनाएको भन्ने अडान छाडेनन्। जिल्ला प्रहरी कार्यलयको महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा दुवैजनालाई अलग अलग राखेर सोधपुछ गर्दा मात्र विवाहको रहस्य खुलेको हो।
बुबाको मृत्यु भएको, आमा विदेश गएको भएर भागेर विवाह गरेको बेहुलीले स्विकारेकी छिन्। उनले भनिन्, ‘बालबालिकाले विवाह गरेको थाहा पाए प्रहरीले जेल हाल्छ भन्ने डरले टिकटक भनेका हौं।’
कोहलपुर नगरपालिका घर भएका उनीहरु परिवारले स्वीकार नगर्ने डरले अन्तरजातीय र अन्तरधार्मिक बिहे गर्न मन्दिर पुगेका थिए।
प्रहरीले उमेर पुगेपछि मात्रै बिहे गर्ने शर्तमा बेहुलीलाइ फुपुको र बेहुलालाई बुबाको जिम्मा लगाएर पठाएको छ।