प्रचण्डको कडा आलोचना गर्दै सूर्य थापाले फर्काए जवाफ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कडा आलोचना गरेका छन्।

आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले केपी ओली २५ औं वर्षदेखि विदेशीबाट पालित पोषित व्यक्ति भएको आरोप लगाएका थिए।

त्यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सल्लाहकार थापाले सोमबार बिहानै ‘रिसाएको बिरालोले खाबो चिथोर्छ’ भन्दै प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका छन्।

‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ’, सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?’

अन्य सम्बन्धित समाचार:  फर्केर हेर्दा, २०७७: चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

उनले नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन् भन्ने प्रश्न गर्दै भनेका छन्, ‘जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ? उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो ?’

उनले नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थिए भन्ने प्रश्न समत गरेका छन्।

उनले अरुको आलोचना गर्नुभन्दा ऐनामा आफ्नो अनुहार हेर्न भन्दै प्रचण्ड र केपी ओलीको तुलना हुन नसक्ने बताएका छन्।