काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन्।
राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८:४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन्।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जान लागेकी हुन्। राष्ट्रपति भण्डारी ५० जनाको जम्बो टोली लिएर बंगलादेश भ्रमणमा निस्किएकी हुन्।
राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्नेछन्।
स्वागतपछि राष्ट्रपति भण्डारीलाई सलामीसहितको सम्मान दिने कार्यक्रम तय छ। भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।