हात छोडेर मोटरसाइकल कुदाउँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

सप्तरी। सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाको मत्युु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीको राजविराजबाट हनुमाननगरतर्फ तीव्रगतिमा जाँदै गरेको अन टेस्टु मोटरसाइकल सप्तरीको राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्डल घाइते भएका छन्।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा मृत्यु भएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ। टाउको र छातीमा चोट लागेर घाइते भएका कौशलको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कारागारमा कैदी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या