प्रदेश १ को मन्त्रिपरिषद विस्तारः ओली पक्षमा प्रवेश गरेकाहरुलाई मन्त्री

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद विस्तार गरेका छन्। साबिकको नेकपाको विवादमा प्रचण्ड–नेपाल पक्ष छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ। केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

साबिकको नेकपामा विवाद हुँदा माधवकुमार नेपाल पक्ष छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछिन्। एमाले र साबिकको नेकपामा माधवकुमार नेपाल पक्षमा रहेका शेरबहादुर तामाङ र उषाकला दम्पती अहिले ओली समूहमा छन्।

अन्य सम्बन्धित समाचार:  एमाले सांसद बसेको घरमा ढुंगा प्रहार गर्ने युवक पक्राउ

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बढाइएको छ। एमालेबाट सांसद बनेका उनी माधवकुमार नेपाल समूह निकट थिए। तर साबिकको नेकपा विभाजित हुँदा ओली समूहमा लागेका उनले प्रचण्ड–माधव समूहले ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद् कला घले र नेपाल समूह छाडेर ओलीतिर लागेका मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ। घलेलाई कृषि र ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको जनाइएको छ।