मोदीको बंगलादेश भ्रमणका क्रममा हिंसात्मक विरोध, ५ जनाको मृत्यु

काठमाडौं। बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शन भएका छन्। बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुगेका हुन्।

एउटा इस्लामिक धार्मिक सङ्गठनले शनिवार पनि विरोधप्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हडताल गर्ने घोषणा गरेको छ। शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित पाँच जनाको मृत्यु भएको छ।

ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ। बीबीसी बाङ्ग्लाका अनुसार ढाकामा केही सातादेखि वामपन्थी र दक्षिणपन्थी सङ्गठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए। विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो।

अन्य सम्बन्धित समाचार:  इजरायल–प्यालेस्टाइन हानाहान जारी