मोटरेबल पुल जीर्ण, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

पर्वत। निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा पर्वतको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ। समय–समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुल जीर्ण बन्दै गएको हो। सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको हो। कुश्मा नगरपालिका–८ दोबिल्लास्थित मोदीखोलामाथि रहेको सो मोटरेबल पुलको समयमा मर्मत नहुँदा सवारीसाधन र यात्रुहरु जोखिमपूर्ण रुपमा वारपार गर्न बाध्य छन्।

पुलको अधिकांश ठाउँमा नट बल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भएपनि कुनै पनि निकायले मर्मतमा ध्यान दिएको छैन। पुलका पाता नै उप्किएर खाल्डा परेका छन् । तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमित रुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा पुल झनै जीर्ण बन्दै गएको सवारी चालकको गुनासो छ।

अन्य सम्बन्धित समाचार:  आज आमाको मुख हेर्ने दिन

पुलको नियमित रुपमा रेखदेख नहुँदा ओभरलोड गरिएका गाडी, डोजर, लोडरलगायतका हेबी इक्युप्मेन्टसमेत पुलबाटै वारपार गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए। ‘पुलमा जुनसुकैबेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ,’ उनले भने।

पुलबाट पाँच स्थानीय तहका ४५ भन्दा बढी वडाका सवारीसाधन आवातजावत गर्दछन्। दैनिक सयौंको संख्यामा सवारीसाधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमता भएको भएपनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारबाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए।