ललिता निवास जग्गा प्रकरणः माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विरुद्धको रिटमा पेसी तोकिएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथी सर्वोच्चमा सोमबारका लागि पेसी तोकिएको जनाइएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा १ नम्बरमा पेसी तोकिएको हो। अग्राधिकारप्राप्त रिटको सुनुवाइ यसअघि पेसीमा चढे पनि स्थगित हुँदै आएको थियो। सोमबार भने सुनुवाइको संभावना रहेको अधिवक्ता न्यौपानेले जानकारी दिए।

बालुवाटार जग्गा प्रकरणकै अन्य आरोपीमाथी भने विशेष अदालतमा थुनछेक बहस भइरहेको छ। बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

अन्य सम्बन्धित समाचार:  देउवाले बोलाए काँग्रेसको पदाधिकारी बैठक