उरुग्वेका राष्ट्रपतिले लगाए चिनियाँ खोप

काठमाडौं। उरुग्वेका राष्ट्रपति लुइज लाकाल पाउले सोमबार कोभिड–१९ विरुद्धको चिनियाँ खोप कोरोनाभ्याकको पहिलो डोज लगाउनु भएको छ। यो खोप चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरेको छ। राजधानी मोन्टेभिडियोको मासिएल अस्पतालमा खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति पाउले कोरोनाभाइरसको उपचार, हेरचाह र खोप लगाउने कार्यमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे।

उरुग्वेले गत मार्च १ देखि खोप अभियान शुरु गरेको थियो। राष्ट्रपति पाउले आफ्नो उमेर समूहले खोप लगाउने पालो आएपछि मात्र आफूले खोप लगाउने घोषणा गर्नु भएको थियो। उरुग्वेमा ५० देखि ७० वर्ष तथा ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिका लागि खोप अभियान चालू छ। साथै स्वास्थ्यकर्मी, शैक्षिक व्यक्तिहरु र सुरक्षा फौजका सदस्यहरुलाई पनि खोप दिइनेछ।

अन्य सम्बन्धित समाचार:  लुम्बिनीमा थप १२ संक्रमितको मृत्यु

उरुग्वेले १८ वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिने यसअघि नै घोषणा गरिसकेको छ। उरुग्वेमा एक महिनाको अवधिमा पाँच लाख ३० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइएको छ, र यो कूल जनसंख्याको करिब १५ प्रतिशत हो। सन् २०२० मार्च १३ यता उरुग्वेमा कोभिड–१९ बाट करिब एक लाख व्यक्ति संक्रमित भएका र त्यसमध्ये करिब ९०० व्यक्तिको मृत्यु भएको छ।